अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताबाहिर पुगेपछि अध्यक्ष प्रचण्डले अतिवादी अभिव्यक्ति दिँदै हिँड्नुभएको छ: महासचिव पोखरेल

सत्ताबाहिर पुगेपछि अध्यक्ष प्रचण्डले अतिवादी अभिव्यक्ति दिँदै हिँड्नुभएको छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको छ।

प्रेस चौतारी कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो।

‘नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेकखाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। यो लोकतान्त्रिक हुन सक्दैन।’

आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको तर्क गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र पुग्छ। तर कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत गरेको छैन।’

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन। मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको मात्रै हो। अमेरिकामा सयौँ वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ। संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ,’  पोखरेलले भन्नुभयो, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो। मुख्य त दुई विचार पूँजीवादको सुधार कि समाजवाद भन्ने नै हो।’

महासचिव पोखरेलले २०८४ मा एमालेलाई देशकै बलियो र राष्ट्रिय शक्तिशाली पार्टी बनाएरै छाड्ने दाबी गर्नुभयो। 

नेकपा (एमाले) कर्णाली प्रदेशको सचिवालय बैठकलाई संवोधन गर्न पोखरेल सुर्खेत पुग्नु भएको हो। उहाँ आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजग शाहले दिनुभयो।