अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमाली जिल्लाहरूलाई विराटनगरसँग जोड्न उडान सुरू गर्ने तयारी हुँदैछ: मुख्यमन्त्री कार्की

हिमाली जिल्लाहरूलाई विराटनगरसँग जोड्न उडान सुरू गर्ने तयारी हुँदैछ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरूलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरूमा उडान सुरू गर्न पहल गरिरहेको बताउनुभएको छ।

आज विराटनगरमा आयोजित दोस्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने बताउनुभयो। तर त्यो सम्भावना अहिले नदेखिएको उहाँले प्रस्ट्याउनु भयो।

कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरू गर्न आग्रह गरिएको बताउनुभयो। यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको बताउनुभयो।

उहाँले २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यसअघि नै कही स्थानमा हवाई उडान सुरू गर्ने तयारी भइरहेको बताउनुभयो। कोशी प्रदेशमा सहज घुम्न आउने जनसंख्या भारत र बंगलादेशमा गरी ५ करोड बढी रहेको भन्दै उनीहरूलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो। उहाँले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशले आइटी र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको भन्दै मुख्यमन्त्री काकीले भन्नुभयो, ‘हामीले यी दुबै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ। पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। अहिलेको आवश्यक्ता नै यही हो।’