अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री कार्की

निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्माण क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ।

विराटनगरमा निर्माण व्यवसायी सङ्घ मोरङको साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति, नियम, कानुन, कर्मचारीतन्त्र र कार्यसम्पादनमा भएका त्रुटिहरू सच्याएर निर्माण कार्यलाई व्यवस्थित बनाउन तयार रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले सबै पक्ष कमजोरी सच्याएर अघि बढ्नुपर्ने औँल्याउँदै प्रदेश सरकार पनि व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरूमा आशा जगाएको मैले पाएको छु, निर्माण व्यवसायी र कानूनी अफ्ट्याराका कारण अझै पनि विकास निर्माणको काम दू्र्तगति र गुणस्तरीय हुन सकिरहेको छैन, यसले सरकारप्रति पनि वितृष्णा बढाउने काम गरेको छ।’

मुख्यमन्त्री कार्कीले खरिद ऐन प्रक्रियामा भएका त्रुटिमा आफ्नो ध्यान गएको र यसलाई सच्याउन सङ्घीय सरकारलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रदेश सरकारले गर्न सक्ने जति काम भने यही दसैँ अघि नै सक्ने उहाँले बताउनुभयो। प्रदेश सरकारले लगाएका ठेक्काहरूको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो। प्रदेशले बनाएका कानुनमा केही त्रुटि भए त्यो आगामी हिउँदे अधिवेशनबाट समाधान गर्ने उहाँले बताउनुभयो।

न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेको भन्दै यसमा पनि गम्भीर हुन आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औँल्याउनुभयो। गुणस्तरीय काम नहुँदा र ढिलासुस्ती समग्र मुलुककै कार्य दक्षतामा प्रश्न उठ्न थालेकोले यस्तै अवस्था रहे मुलुक नै टाट पल्टिने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘सबैले गम्भीर भएर समीक्षा गर्न जरुरी छ। सम्माननीय प्रधानमन्त्रीज्युले समेत यसलाई गम्भीर रूपमा लिनुभएको छ, प्रमुख सत्ता घटक नेपाली काँग्रेसका सभापति ज्युले पनि समस्या समाधान गर्न तत्परता देखाइरहनुभएको छ, उहाँहरूलाई राखेर समस्याको हल गर्न म तयार छु।’ उहाँले भन्नुभयो, ‘कतिपय समस्याहरू भने निर्माण व्यवसायीकै कारण छ।’

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घका महासचिव रवि सिंहले निर्माण व्यवसायीहरूको समस्याका विषयमा जानकारी गराउनुभएको थियो। सार्वजनिक खरिद ऐन, कर्मचारीतन्त्र र सरकार, भुक्तानीमा ढिलाइ लगायतका समस्याले निर्माण व्यवसायीहरू गम्भीर अवस्थामा पुगेको उहाँको भनाइ छ। कार्यक्रममा निर्माण व्यवसायीहरूलाई सहयोग गर्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको निर्माण व्यवसायी सङ्घ मोरङका सचिव राधेश्याम कट्टलले जानकारी दिनुभयो। उहाँहरूलाई मुख्यमन्त्री कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो।