अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढुण्डिराज लामिछानेलाई १ लाख रुपैंया राशीको निजामती उत्कृष्ट पुरस्कार

ढुण्डिराज लामिछानेलाई १ लाख रुपैंया राशीको निजामती उत्कृष्ट पुरस्कार


काठमाडौं-यस वर्षको उत्कृष्ट निजामती पुरस्कार राष्ट्रिय तथ्याङ्क कार्यालयका वरिष्ठ निर्देशक ढुण्डिराज लामिछानेलाई प्रदान गरिएको छ।

निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई सो पुरस्कार प्रदान गर्नुभएको हो। गत वर्ष २०औँ निजामती सेवा दिवसका अवसरमा सरकारले लामिछानेलाई सो पुरस्कार दिने घोषणा गरेको थियो। १ लाख रुपैयाँ राशिको पुरस्कार सहित प्रमाणपत्र प्रधानमन्त्री ओलीले आज लामिछानेलाई हस्तान्तरण गर्नुभएको हो।

झापा दमक निवासी लामिछाने करिब ३ दशक देखि तत्कालिन केन्द्रीय तथ्याङ्क विभाग र हालको राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत हुनुहुन्छ। रातकाको जनसंख्या शाखाका प्रमुख लामिछानेको नेतृत्वमा राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको थियो।

कोभिडको महामारी शान्त भइनसक्दै गरिएको सो जनगणना सफलतापूर्वक सम्पन्न भएको थियो। लामिछानेले कोभिड विरुद्धका सावधानी अपनाएर करिब ५० हजार जनशक्तिलाई घरघरमा पुगेर तथ्याङ्क संकलन गर्ने टिमको नेतृत्व गर्नुभएको थियो। सरकारले बिषम परिस्थितीमा पनि जनगणना जस्तो चुनौतिपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको भन्दै गतवर्ष उहाँलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।

लामिछानेले उक्त पुरस्कारमा त्यती नै रकम थपेर आफ्ना स्वर्गीय बुबा आमाको नाममा अक्षय कोष स्थापना गरेर समाजसेवा गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आमा रनकुमारी र बुबा माधवप्रसादको नाममा कुनै खास क्षेत्रका गरिब,जेहन्दार,श्रमशिल व्यक्तिलाई वार्षिक रुपमा पुरस्कार दिने घोषणा गर्नुभएको छ। अक्षयकोषको राशी वार्षिक रुपमा वृद्धि गर्दै जाने उहाँले बताउनुभएको छ।