अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँ दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उहाँले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भयो।

अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। 

‘यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘साक्षरताका कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो।’ 

साक्षरता कार्यक्रम सञ्चालनमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याउनुभयो।

गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुआत गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताउनु भयो।

प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ‘ड्रपआउट’ हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याउनु भयो ।

‘विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घसंस्थालगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबै दृढताका साथ लाग्नुपर्छ।’

सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताउनुभयो। ‘गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछु’, प्रधानमन्त्रीले भन्नुभएको छ।

प्रधानमन्त्री ओलीले ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ।