अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको न्यूनतम् साझा कार्यक्रमको विषयमा छलफल गर्न आज सत्तारुढ दलको बैठक बस्दै

सरकारको न्यूनतम् साझा कार्यक्रमको विषयमा छलफल गर्न आज सत्तारुढ दलको बैठक बस्दै


काठमाडौँ-सत्ता साझेदार दलहरूको बैठक आज अपराह्न बस्ने भएको छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

सरकारले ल्याउने सरकारको न्यूनतम् साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बस्न लागेको हो।

सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो । 

आइतबार भएको दुई दलका शीर्ष नेताहरूबिचको बैठकमा न्यूनतम साझा कार्यक्रमका लागि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्। यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन्।

असार १७ गते  मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।