काठमाडौं-जेष्ठ नागरिक लेखिका नन्दकला सुवेदीको ९४ वर्षको उमेरमा निधन भएको छ। सुर्खेत निवासी सुवेदीको २०८१ साल, भदौ २२ गते बिहान सुर्खेत, विरेन्द्रनगरमा निधन भएको थियो।
लेखिका नन्दकलाले सुर्खेत र दैलेख आसपासका क्षेत्रमा गाइने गरेका पुराना भजन र तीज गीतहरूको सङ्कलन ‘पुराना भजन र तीज गीत सङ्ग्रह’ २०७८ सालमा प्रकाशित गर्नुभएको थियो। त्यस्तै २०७९ सालमा उहाँको ‘८८ वर्षमा कैलाश मानसरोवर’ नियात्रा सङ्ग्रह प्रकाशित भएको थियो।
जुन सङ्ग्रहका लागि साहित्य सन्ध्या काठमाडौँले नियात्रा विधाको ‘साहित्य सन्ध्या नियात्रा पुरस्कार’ प्रदान गरेको थियो। ‘अठासी वर्षमा कैलाश मानसरोवर’को भूमिकामा वरिष्ठ नियात्रा लेखक प्रतीक ढकालले सुवेदीलाई ‘अनुभव र अक्षरकी सगरमाथा’ भनेर सम्बोधन गरेका छन्। त्यस्तै अर्का वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले यसै सङ्ग्रहको भूमिकामा भनेका छन्, ‘मुभी क्यामेराले खिचेको जस्तै जीवन्तता खिचेकी छन् नन्दकलाले भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक संसारलाई आफ्ना लेखनको मुभी क्यामराले।’
दैलेखमा जन्मिनुभएकी सुवेदीको कर्मथलो सुर्खेत भएका कारण उहाँको जीवनको अधिकांश समय सुर्खेतमै बित्यो। ४० वर्षको उमेरमा प्रौढ कक्षामार्फत कखरा सिकेर प्रौढ कक्षाकै गुरुआमा भएकी सुवेदीले नेपाल परिवार नियोजन सङ्घको मोटिभेटर एवं सङ्घकै विभिन्न तहको प्रतिनिधि भएर साथै नेपा महिला सङ्गठनमा समेत रहेर लामो समय सामाजिक सेवा गर्नुभएको थियो । उहाँले सुर्खेत नगर पञ्चायतको वडा सदस्य भएर जनप्रतिनिधिको भूमिका पनि निर्वाह गर्नुभएको थियो।
प्रतिक्रिया