काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक बर्तौलाले सरकारले जवाफ दिनुपर्ने बताउनु भयो।
सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यही भाद्र १३ गते पाँचथरमा बेवारिसे बम विष्फोटमा एकै घरका २ जना बालबालिकाको ज्यान गएको र २ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल जानकारी गराउन माग गर्नुभयो।
उहाँले भन्नुभयो, ‘सरकारले यस्ता घटनाबारे गम्भिरताका साथ अनुसन्धान गर्नुपर्ने देखिन्छ। सामान्यतया यतिका दिन भईसक्दा पनि यस घटनामा जोडिएका दोषी को हो? यो सरकारले सरकारले यो सदनलाई आएर बताउनु पर्छ। थाहा दिनुपर्छ। यस्तो गम्भीर प्रकृतिको घटनामा माननीय गृहमन्त्रीज्यूले संसदमा जानकारी गराउनु बढ्ता उपयुक्त हुन्छ। म यो माग गर्न चाहन्छु।’
प्रमुख सचेतक बर्तौलाले सो बेवारिसे बम तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका बेला बेवारिसे अवस्थामा छोडिएको कुरा विभिन्न समाचार माध्याममा आएको उल्लेख गर्दै त्यसबारे सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने जिकिर समेत गर्नुभयो।
बर्तौलाले यस्ता बेवारिसे बम विष्फोटको घटनालाई सरकारले गम्भिरतापूर्वक लिई अनुसन्धानको कामलाई तिब्रता दिनुपर्ने बताउनु भयो।
प्रतिक्रिया