काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक सुरु भएको छ। केही समय अघि बैठक सुरु भएको सचिवालयले जनाएको छ।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ। त्यस्तै, बैठकमा अन्य समसामयिक विषय र सरकारका काम कारबाहीबारे छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्छ।
यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।
असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।
असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।
प्रतिक्रिया