अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई एमालेको निर्देशन

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरूलाई एमालेको निर्देशन


काठमाडौं-नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देश गरेको छ।

आज एमालेले ३ असोजसम्म काठमाडौं नछोड्न निर्देशन दिएको एक सांसद बताउनु भयो। उहाँका अनुसार महत्वपूर्ण विधेयकहरू पास गर्नुपर्ने र सँगसँगै बर्खे अधिवेशन अन्त्य पनि गर्नुपर्ने भएकाले काठमाडौंमै रहन निर्देशन दिइएको छ। 

‘संसदमा विधेयकहरू पारित गर्नुपर्नेछ। सँगसँगै बर्खे अधिवेशनको पनि अन्त्यमा रहेकाले काठमाडौंमै रहनुहोला भन्ने निर्देशन आएको छ, ’उहाँले भन्नुभयो।

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्‌मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो। 

‘उपत्यका बाहिर भएका सांसदलाई २९ गतेसम्म काठमाडौँ आइपुग्न भनिएको छ,’ एक सांसदले भन्नुभयो, ‘कोहीलाई फोन र कोहीलाई मेसेजमार्फत खबर आएको छ।’

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ।

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।