काठमाडौँ-पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको वडा-९ खरवन्डी गाउँका करिब ५० जना मानिस बिरामी भएका छन् ।
स्थानीय छत्र निरौलाको घरमा मंगलबार लगाएको पूजाको प्रसाद खाँदा करिब ५० जना स्थानीय बिरामी परेको वडा-९ का वडा अध्यक्ष भिष्म मिश्रले याेबेला डटकमलाई जानकारी दिनुभयो।
‘मंगलबारको दिन पुजा रहेछ। सोही दिन स्थानीयहरूले उक्त दिन प्रसाद खाएपछि बेलुकाबाटै बिरामी हुन थालेछन् । बुधबार धेरै जना बिरामी परेको खबरपछि बिरामीहरूलाई स्थानीय अस्पताल लगिएको थियो’, मिश्रले भन्नुभयो, ‘केही उपचार भइरहेको छ भने केहीलाई डिस्चार्ज गरिसकेको छ ।’
अर्जुनधारा ९ स्थित खरबन्दीमा मङ्गलवार स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको थियो। सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् । बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म छन्।
बिरामी परेका अधिकांश बिरामीको कालिस्थानस्थित क्लिनिकमा उपचार भएको थियो भने स्वास्थ्य अवस्था नाजुक हुनेहरूलाई बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिरामीमध्ये स्थानीय १६ वर्षीय नीरज निरौला, ५२ वर्षीय कमला कटवाल, वर्ष २४ की विद्या कटवाल, वर्ष ९ का उत्सव काकी, वर्ष ८ की आहना भट्टराई, वर्ष ७ का राजन आचार्यलगायत ५२ जना डिस्चार्ज हुँदा हुँदा सोही स्थान वर्ष १८ की गोमा भुजेल, वर्ष–५५ की दुर्गा भुजेल, वर्ष ४० की तारा बस्नेत, वर्ष १५ का रिवस बाराकोटीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा, वर्ष ४१ की गोमा भट्टराई र २६ वर्षीय मनिता कार्कीको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि सामान्य रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
प्रतिक्रिया