अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारमा सहभागी भयो कांग्रेस, नयाँ मन्त्रीद्वारा शपथ

कोशी सरकारमा सहभागी भयो कांग्रेस, नयाँ मन्त्रीद्वारा शपथ


विराटनगर-नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।

कांग्रेस कोशीका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोशी सरकारमा सहभागी भएको हो।

नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो।

उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ। 

कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिएका हुन् । नेता डा. शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ। यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन्। 

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।