अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित 

एमाले सचिवालय बैठक: निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित 


काठमाडौं-नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार सम्पन्न बैठकले पार्टीको वार्षिक कार्ययोजना पारित गर्दै बैठक सम्पन्न गरेको हो।

एमाले सचिवालयको ३६औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।  

बैठक पछि पत्रकारसँग कुरा गर्दै पार्टी महासचिव शंकर पोखरेलले बलिया राष्ट्रिय शक्ति बनाउने गरी पार्टीले वार्षिक कार्ययोजना बनाइएको जानकारी दिनुभयो। जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्रथामिकतामा राखेर कार्ययोजना बनाएको पोखरेलले बताउनुभयो। ‘आजको बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको छ’, पोखरेलले भन्नुभयो।

वार्षिक कार्ययोजना भित्र १८ वटा विषय समावेश भएको पोखरेलले बताउनुभयो। ‘पार्टी सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ, नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम खास गरी केही जिल्लामा अधिवेशन बाँकी छ, त्यसलाई कात्तिक मसान्त भित्र सम्पन्न गर्ने योजना बनाएका छौँ, सबै तहका अधिवेशन मङ्सिर मसान्त भित्र सक्ने योजना बनाइएको छ’ पोखरेलले भन्नुभयो।

पार्टी प्रवेश गरेका र विभिन्न अधिवेशनबाट बिदा भएकाहरूलाई तीन महिना भित्र यथोचित जिम्मेवारी दिने योजना बनाइएको उहाँले जानकारी दिनुभयो। पार्टी कमिटी र कार्यकर्ताको कामको विधि स्थापित गर्ने योजना पनि बैठकले बनाएको छ।

पार्टी कमिटी परिचालन, अन्तर्विरोध व्यवस्थापन र पार्टी एकतालाई आधार बनाएर बैठकले कार्ययोजना बनाएको छ। पार्टीको स्कुल सञ्चालनलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना बैठकले बनाएको छ। प्रत्येक वर्ष पार्टीका प्रत्येक सदस्य पार्टीको कुनै न कुनै तहको स्कुलमा सामेल भएर स्कुलिङमा भाग लिनु पर्ने र उनीहरूबाट नेतृत्व निर्माण गर्ने अवधारणालाई बैठकले अधि सारेको पोखरेलले जानकारी दिनुभयो।

सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले विभिन्न निर्णय गरेको छ। सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुरामा कार्ययोजना केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।
पार्टी र जनता बिचको सम्बन्धलाई जीवन्त बनाउन केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयलाई व्यवस्थित गर्ने निर्णय पनि बैठकले गरेको छ। परम्परागत प्रचारको ढाँचालाई परिवर्तन गरी सामाजिक सञ्जाल मार्फत प्रचारको कामलाई अघि बढाउने बैठकले निर्णय गरेको छ।

कामका नयाँ क्षेत्र पहिचान गरी जिम्मेवारी प्राप्त गर्न नसकेका नेताहरूलाई नयाँ क्षेत्रको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ। पार्टीका हरेक कमिटीले वार्षिक बजेट तयारी गरी आम्दानी र खर्चको हिसाबकिताब राख्नु पर्ने बैठकको निर्णय छ।

पार्टी शुद्धीकरण र सुदृढीकरणको विषय पनि पार्टीको वार्षिक कार्ययोजनामा रहेको छ। पार्टी भित्रको जीवनशैली, आचरण र आर्थिक अनुशासनको कामलाई व्यवस्थित बनाउने विषय पनि कार्ययोजनामा समावेश छन्।

त्यस्तै पार्टीलाई कसरी बलियो राष्ट्रिय शक्ति बनाउने र मिसन २०८४ मा पार्टीलाई कसरी बहुमतप्राप्त पार्टी बनाउने भन्ने विषय वार्षिक कार्यक्रममा रहेका पोखरेलेले जानकारी दिनुभयो । प्रवासको कामलाई पनि पार्टीको वार्षिक कार्ययोजनामा समावेश गरिएको उहाँले बताउनुभयो।

पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली विकास, यूथ समिट आयोजना गर्ने कार्ययोजना पनि बैठकले तय गरेको छ।