काठमाडौं-सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र)लाई आग्रह गर्नुभएको छ।
संसदमा प्रयोग हुँदै आएको ‘हिंसा’ शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई उहाँले आग्रह गर्नुभएको हो।
एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाइरहनुपर्ने आवश्यक्ता नभएको उहाँको जिकिर थियो। नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो।
‘सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आआफ्नो कुरा प्रकट गर्दछन्। त्यो सबैमा सहमति भएर बोलेको कुरा हुँदैन पहिलो कुरा। दोस्रो कुरा, अब त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ। कुनै शब्द प्रयोग गर्दछन्, ’प्रवक्ता डा. महतले भन्नुभयो, ‘त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन। अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरू दिँदाखेरी विभिन्न विशेषणहरूको प्रयोग हुन्छ। उहाँहरूले एउटा विशेषण दिनुहुन्छ।’
प्रवक्ता महतले सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताउनु भयो। उहाँले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरू एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको पनि बताउनु भयो ।
उहाँले भन्नभयो, ‘तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ। यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आइपुगेका छौँ। एकैठाउँमा हामी संसदमा छौँ। त्यसो हुनाले अव हामीले ती विषयहरुलाई कोट्याइ रहनुपर्ने आवश्यक छैन।’
प्रतिक्रिया