काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनु भएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिंदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्य सम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुपर्ने बताउनु भएको हो।
मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ। त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो।
कार्यसम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिंदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामुहिक रुपमा अघि बढ्नु पर्छ। एक जनाको प्रयास मात्रै पर्याप्त हुँदैन। सामुहिक प्रयासबाट हामी उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम हुनेछौं।’
सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको १६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिनुभयो। सो अवसरमा उहाँले नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउँँदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गर्नुभयो। ‘डिजिटल नेपाल फ्रेमवर्क’ को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिनुभयो । त्यस्तै, सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ) सम्बन्धी योजनलाई चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजाने गरी काम गर्न उहाँको निर्देशन छ।
कार्यसम्पादन सम्झौतापछि सरकारी सञ्चारमाध्यामलाई थप प्रतिस्पर्धी र व्यावसायिक भएर काम गर्न उहाँले निर्देशन दिनुभभयो। सरकार र मातहतका निकायबाट हुने प्रचारप्रसार र विज्ञापनसम्बन्धी कार्यमा सरकारी सञ्चारमाध्यामलाई प्राथमिकतामा राख्नेगरी योजना बनाईने पनि स्पष्ट पार्नुभयो।
प्रतिक्रिया