अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटो सिक्काको ‘जादुयी नम्बर’ चल्न छाडेपछि माओवादीका नेता-कार्यकर्ता विक्षिप्त: प्रदीप ज्ञवाली

खोटो सिक्काको ‘जादुयी नम्बर’ चल्न छाडेपछि माओवादीका नेता-कार्यकर्ता विक्षिप्त: प्रदीप ज्ञवाली


नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेपछि माओवादीका नेता-कार्यकर्ता विक्षिप्त बनेको बताउनु भएको छ।

केन्द्रीय स्कुल विभागको आयोजनामा सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर जिल्ला स्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले ‘जादुयी नम्बर’को बलमा माओवादीले कहिले कसैलाई, कहिले कसैलाई खेलाए पनि अब त्यो नम्बर खोटो भइसकेको बताउनु भयो।

उपमहासचिव ज्ञवालीले माओवादीको खोटो सिक्का अब चल्न छाडिसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘माओवादीको खोटो सिक्का अब चल्न छाडिसक्यो। त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरी बंगलादेश बनाउँछु, घरी श्रीलंका बनाउँछु भन्दै धम्की दिइरहनु भएको छ। हिजो त्यत्रो सेना हुँदा त सकेनन्।’

उपमहासचिव ज्ञवालीले माओवादी र काठमाडौंका मेयर बालेन शाह लगायतको अराजकता तथा राजतन्त्रका पक्षधर र संविधान विरोधीहरुको घेराबन्दी तोडेर २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो।

अस्थिरता फैलाउनेहरूको दोकान बन्द भइसकेको र देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएको ज्ञवालीले बताउनु भयो। उहाँले मिसन ०८४ सफल पार्न अहिले देखि जनतामाझ जान आह्वान गर्दै आगामी निर्वाचनबाट पार्टी निर्णायक राष्ट्रिय शक्ति हुने दाबी गर्नुभयो।

तीन दिने जिल्ला स्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा उप महासचिव तथा पार्टी स्कुल विभाग प्रमुख ज्ञवालीले ‘महाधिवेशनद्वारा पारित नीति, कार्यक्रम र कार्यदिशा’बारे प्रशिक्षण दिनुभयो।

केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइरालाले ‘प्रशिक्षण व्यवस्थापन, प्रस्तुति सीप र शैली’ विषयमा प्रशिक्षण दिनुभयो।

मंगलबार एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र बिहीबार एमाले पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावल तथा निरुदेवी पाल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।