अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी पार्टी नै होइन, पार्टी बनेकै छैन: शंकर पोखरेल

माओवादी पार्टी नै होइन, पार्टी बनेकै छैन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र अझै राजनीतिक पार्टी बनी नसकेको बताउनुभएको छ।
प्रेस सेन्टर नेपालका नेता कार्यकर्ताहरूको प्रेस चौतारी नेपालमा प्रवेश गर्न आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले माओवादी एउटा आन्दोलन मात्र भएको बताउनुभयो। ‘माओवादी आन्दोलन मात्र हो, पार्टी नै होइन, पार्टी बनेकै छैन’, उहाँले भन्नुभयो।

पोखरेलले नेकपा एमाले नेपाको सन्दर्भमा मात्र नभएर एसियाकै सन्दर्भमा सुदृढ पार्टी भएको उहाँले दाबी गर्नुभयो।परिणामका हिसाबले कहिले सफलता कहिले असफलता एउटा पक्ष भए पनि पार्टीका हिसाबले एमालेको जत्तिको सामर्थ्य राख्ने पार्टी बिरलै भएको पोखरेलले बताउनुभयो। त्यसैले नेकपा एमालेलाई कमजोर पार्ने प्रयत्न बारम्बार हुने गरेको उहाँले सुनाउनुभयो।

उत्साहका साथ नेकपा बनाइएको भए पनि पुष्पकमल दाहाल एकताको लागि नआएको कारण नेकपा फुटेको पोखरेलले बताउनुभयो । प्रचण्ड प्रयोगका लागि मात्र आएको कारण त्यस्तो स्थिति बनेको पोखरेलका निष्कर्ष छ। प्रचण्डको सहकार्य गर्ने अनिच्छाका कारणले नेकपा फुटेको उहाँले बताउनुभयो। ‘प्रचण्ड सहकार्य गर्ने मान्छे होइन, आदेश दिने मान्छे हो, आदेशले मात्र राजनीति चल्दैन, विधि, पद्धति, योजना र सामूहिकताको आवश्यकता पर्दछ’, उहाँले भन्नुभयो।

शक्ति केन्द्रले साथ दिएको कारण प्रचण्ड आफ्नो राजनीति सफल भएको पोखरेलको विश्लेषण छ। ‘उनीहरूको साथ नभएको भए उनको अवस्था हेर्न लायकको हुन्थ्यो’, उहाँले भन्नुभयो।

पोखरेलले अबको राजनीति प्रचण्डको पक्षमा नरहेको दाबी गर्नुभयो। २०८४ सालको निर्वाचनमा माओवादी राष्ट्रिय दलसम्म बन्न सक्ने भए पनि त्यस पछि राष्ट्रिय मान्यता प्राप्त दल पनि नबन्ने उहाँको ठम्याई छ। यो माओवादी प्रतिको अपमान नभई सम्मान नै गरेको उहाँले बताउनुभयो। ‘औचित्य सकिएको पार्टी राष्ट्रिय पार्टी हुन्छ भन्नु उसको विगतको भूमिको सम्मानै गरेको हो भन्ने बुझ्नु पर्दछ, भविष्यको आँखाबाट हेर्ने हो भने अब माओवादी भई रहनुको औचित्य छैन’, उहाँले भन्नुभयो।

अब वामपन्थी जनमतलाई एमाले वरिपरि र बुर्जुवा जनमत कांग्रेसको वरिपरि केन्द्रीकृत हुने पोखरेलले बताउनुभयो। नेपालको राजनीति अब दुई ध्रुवमा ध्रुवीकृत हुने पोखरेलले दाबी गर्नुभयो।

साना राजनीतिक पार्टीका कारण देशमा अस्थिरता बढेकोले देशका ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका पोखरेलले बताउनुभयो। यसको सबैभन्दा बढी छटपटी माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डलाई भएको पनि पोखरेलले बताउनुभयो।