अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर जानुहुँदै

प्रधानमन्त्री ओली इन्द्रजात्रामा सहभागी हुन वसन्तपुर जानुहुँदै


काठमाडौं-आज काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु हुने भएको छ।

इन्द्रजात्रामा सहभागी हुन मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

काठमाडौँको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुने गर्छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गर्ने गरिन्छ। 

आज इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। इन्द्रजात्रालाई नेपाल भाषामा  ‘येँया पून्हि’,भनिन्छ। ‘येँ अर्थात् काठमाडौं र या अर्थात् जात्रा भन्ने हुन्छ। नेवा समुदायले इन्द्रजात्रा वर्षा र सहकालका देवता मानिने देवराज इन्द्रको पुजा आराधना गरी मनाउँदछन्। 

इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ।

इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरूप सानो लिङ्गो ठड्याइन्छ। यसरी ठड्याइएको लिङ्गोलाई नेवा भाषामा यम्वोःद्यो भनिन्छ। इन्द्रजात्राको सुरूवात इन्द्रले नै गरेको मान्यता रहिआएको छ। इन्द्रजात्रा पर्व उपत्यकाका किसानहरूले प्रचलन ल्याएको जनविश्वास छ। 

काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ।