अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख दलहरूबीच सहमति भएका विषयमा मात्रै संविधान संशोधन हुन्छ: शंकर पोखरेल 

प्रमुख दलहरूबीच सहमति भएका विषयमा मात्रै संविधान संशोधन हुन्छ: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानको विश्वसनीयता बढाउनको लागि यसको संशोधन गर्नुपर्ने बताउनुभएको छ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्ष अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रमुख दलहरूका बिचमा आमसहमति हुने विषयमा संविधान संशोधन हुने बताउनुभयो।

समग्रतामा संविधानको रिभ्यू गर्ने एउटा विषय भए पनि राजनीतिक दलको सहमतिका विषमा मात्रै संविधान संशोधन हुने उहाँको धारणा छ। ‘जे कुराको प्रमुख दलहरूका बिचमा आमसहमति बन्दछ, त्यो विषय नै संशोधनको विषयका रूपमा प्रवेश गर्दछ’, पोखरेलले भन्नुभयो।

संविधान संशोधन सरकारी बिजनेसकै रूपमा आउनु पर्ने पनि उहाँले बताउनुभयो। आम रूपमा संविधानका सबै धाराहरूमा छलफल र संशोधन सम्भव नरहेको पोखरेलले स्पष्ट पार्नुभयो।

एउटा पार्टी भित्र छलफल गरेर मात्र संविधान संशोधन नहुने उहाँले बताउनुभयो। राजनीतिक दलहरू बिच छलफल गरेर आमस्वीकार्य हुने हिसाबले संविधान संशोधन हुने पोखरेलले स्पष्ट पार्नुभयो। एउटा पार्टीले छलफल गरेर मात्र नपुग्ने बताउँदै उहाँले पार्टीहरू बिचमा छलफल गरेर जनभावना समेत बुझी संविधान संशोधन गर्नुपर्ने धारणा राख्नुभयो।

पोखरेलले समावेशी सहभागितामा असर नपर्ने गरी प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्न सकिने बताउनुभयो। निर्वाचन क्षेत्रमा समावेशितालाई निश्चित वर्षका लागि रोटेसन गरेर पनि गर्न सकिने वा निश्चित निर्वाचन क्षेत्रलाई समावेशी बनाएर प्रत्यक्ष निर्वाचन गराउन सकिने उहाँले धारणा राख्नु भयो।

राजनीतिक अस्थिरतासँग थ्रेस होल्ड पनि जोडिएको बताउँदै उहाँले थ्रेस होल्डलाई कम्तीमा पाँच प्रतिशत बनाउनु पर्ने र संसदमा ह्विप लगाउने अधिकार राष्ट्रिय पार्टीलाई मात्र हुने व्यवस्था गर्ने हो भने राजनीतिक अस्थिरता रोक्न सहयोग पुग्ने पोखरेलका धारणा छ।

संसद् भनेको कानुन निर्माणको मुख्य थलो हो भन्ने कुरा स्थापित गर्न नसक्दा अझै पनि आधारभूत कानुन बन्न नसकेका पोखरेलले बताउनुभयो। संसद् मन्त्री बन्ने र विकास बजेट लैजाने थलोका रूपमा विकास हुँदै गएको उहाँको भनाइ छ। यसले संविधान कार्यान्वयनमा समस्या आएको पोखरेलले बताउनुभयो।

‘संघीयता किन सफल हुन सकेन भने आधारभूत कानुन नै बन्न सकेका छैनन्, कानुन बनाउने कुरामा नै संसद् केन्द्रित हुन सकेको छैन’, उहाँले भन्नुभयो ।