अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री ओली

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो। यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८१ देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, ‘भएको लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ।’

सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण/प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ।

‘समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेछ’, प्रधानमन्त्रीले भन्नुभएको छ।

कक्षा-१० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ।

आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहिनत गर्नुपर्ने देखिएको उहाँको कथन छ। उहाँले त्यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको बताउनुभएको छ। ‘विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाइ विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ।

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ।