काठमाडौं-भोलि (बिहीबार)देखि सर्वसाधारणले धरहरा चढ्न पाइने भएको छ।
काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो। लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो।
भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ। परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ। त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उहाँले बताउनु भयो।
‘एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उहाँले भन्नुभो, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था मिलाउन लागेका छौं।’
भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताउनु भयो।
अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ। धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ।
धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन्। फोटो भिडियो खिच्न समेत दिइने परियोजना प्रमुख अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया