अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैं लक्षित अग्रिम टिकट खुलाउने बारे छलफल

दशैं लक्षित अग्रिम टिकट खुलाउने बारे छलफल


काठमाडौं-दशैं लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ। चाडपर्वको समयमा ठूलो संख्यामा यात्रुहरु काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यसस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो।

बुधबार मन्त्रालयमा आयोजीत सरोकारवालाहरुको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो।

सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उहाँले निर्देशन दिनुभयो। चाडपर्वलाई दुर्घटनारहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो। टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीहरुमा सुरक्षा प्रवन्ध दर्विलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रवन्ध मिलाउन सम्वद्ध सवै क्षेत्र लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधिन सडकहरुमा समेत खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रवन्ध गर्ने लगायतका काम भई रहेको बताउनुभयो। विशेष परिस्थिती बाहेक २ घण्टा भन्दा बढी सडक जाम हुन नदिईएको भन्दै उहाँले चाडपर्व नजिकिएसँगै यस कार्यलाई थप प्राथमिकतामा राखिएको जनाउनुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो।

प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई नै लक्षित गरि सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानहरुमा चेकजाँचको व्यवस्था मिलाईएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रवन्ध समेत मिलाईएको बताउनुभयो। कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर लगायत व्यवसायीहरुले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिनुभयो।