अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु

लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु


सुर्खेत-लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन्।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो। उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका-१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिनुभयो।

उहाँका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए। उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए।

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उहाँले बताउनु भयो। खकार चेक गर्दा क्षयरोग रोग देखियो। उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए।

‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो। फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो।’

उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन्। यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो।

२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए। कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन्।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ। २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले बताउनु भयो ।