अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्छ’

‘शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्छ’


नवलपुर-शान्ति र समृद्धिका लागि युवा नै नेतृत्वदायी भूमिकामा आउनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। नवलपुरको देवचुलीमा जागृति बाल तथा युवा सरोकार नेपालले गरेको शान्ति स्थापनामा युवाहरूका भूमिका विषय कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन्।

आफूलाई परिवर्तन गर्दा शान्ति प्राप्त गर्न सहज हुने यूवा अधिकारकर्मी विद्रोही गिरीले बताउनुभयो। युवाहरूले सानो सानो कुरामा ध्यान दिँदा समाजलाई फाइदा पुग्छ उहाँले भन्नुभयो, ‘समाजमा सदाचार इमानदारिता र नैकिताको स्तर खस्कँदै गएको अवस्थामा राष्ट्रको हावा पानी र माटोलाई सम्झेर युवा पुस्ताले काम गर्नुपर्ने हुन्छ।’ सङ्घीय प्रणाली अनुसारका संरचनामा अव युवाले नेतृत्वदायी भूमिका खेल्ने बेला भएकोमा गिरीको जोड थियो। बाल क्लब स्थापना र नेतृत्वका सन्दर्भमा उहाँले आफ्नो भनाई राख्नु भएको थियो।

अधिवक्ता भूपेन्द्र खनालले शान्ति स्थापनामा युवाहरूको भूमिकाका बारेमा आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो। द्वन्द्वलाई सही तरिकाले समाधान गर्दा त्यो शक्तिको रूपमा स्थापित हुने र उपलब्धिहरू हासिल गर्न सहज हुने उहाँले बताउनुभयो। नेपालमा द्वन्द्वको अबस्था शान्ति प्रक्रियाका काम तथा यसमा युवाहरूको अवस्थाका बारेमा उहाँले प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा पब्लिक स्पिकर तथा स्वतन्त्र विद्यार्थी युनियन मध्य बिन्दु बहुमुखी क्याम्पसकी कोषाध्यक्ष मनीषा पौडेल, किशोरी अभियान्ताहरु सुस्मिता भण्डारी, विद्या ढुङ्गाना देवचुली नगरपालिका वडा-१० अध्यक्ष रेप्ती कुमार घर्ती मगर लगायतले बोल्नु भएको थियो भने रेजिना घर्तीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा जेसिवाइसिएनका महासचिव दीपक शर्मा, किशोरी अभियान्ता आशा वि.क., देवचुली नगरपालिकाका कालिका र पृथ्वी माविका बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो।