अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व डिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पूर्व डिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो


कास्की-कास्कीको पोखरा महानगरपालिका-४, नालास्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइएको छ।

काठमाडौँबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर काठमाडौंबाट पक्राउ गरिएको हो।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान अगाडि बढाउन अदालतसमक्ष माग गरेको छ।

आइतबार दिउँसो काठमाडौंको शङ्खमूलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राती साढे ९ बजे हवाइजहाजमार्फत पोखरा ल्याइएको हो। गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ। 

समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो। जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत हुनुहुन्छ। केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो।

काठमाडौं महानगरपालिका–१, नक्साल बस्ने ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो। जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो। 

सूर्यदर्शनमा सेयर रकम, बचत, जगेडालगायतका कोषमा हुनुपर्ने रकम गैरकानुनी रुपमा अपचलन भएको छ। सहकारीको एक अर्ब ३५ करोड हिनामिना भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।  

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो।