अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो


काठमाडौं-नेपाली  इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ। यसका लागि नेपाल ईन्जिनियरीङ् काउन्सिलले प्रक्रिया अघि बढाएको हो।

सोमबार इन्जिनियरहरूको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरूले समेत यो प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानूनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। ‘यो प्रक्रिया अघि बढाउन निक्कै ढिला भएको छ’ मन्त्री दाहालले भन्नुभयो, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नुपर्छ।’

सोही कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले ईन्जिनियरीङ्का क्षेत्रमा अन्वेशण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने पनि जनाउनुभयो। त्रिभुवन विश्व विद्यालय ईन्जिनियरीङ अध्ययन् संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा ईन्जिनियरीङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नु भएको थियो।

उक्त एकडमा आबद्ध राष्ट्रहरूका ईन्जिनियरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक अवसर प्राप्त हुने कार्यक्रममा बताईयो। काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाई रहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताउनुभयो। यो प्रक्रिया पूरा हुन ४ देखि १० वर्ष सम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली ईन्जिनियरीङ् क्षेत्रलाई आशावादी बनाएको उल्लेख गर्नु भयो। यो प्रक्रियाको थालनीले नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको उहाँको भनाई छ।