अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका धेरै भूभागमा मेघगर्जनसहित वर्षा, २७ जिल्ला उच्च जोखिममा

देशका धेरै भूभागमा मेघगर्जनसहित वर्षा, २७ जिल्ला उच्च जोखिममा


काठमाडौं-आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र मधेस प्रदेशका एक–दुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

२७ जिल्ला उच्च जोखिममा 
असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन्। सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमका जिल्लामा पर्ने छ। ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ।

महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन्। यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ। कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन्।