अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनतामा आधारित पार्टी हो, कार्यकर्ता ढुङ्गाबाट शालिग्राम बन्दैछन्: प्रशासनमन्त्री गुप्ता

एमाले जनतामा आधारित पार्टी हो, कार्यकर्ता ढुङ्गाबाट शालिग्राम बन्दैछन्: प्रशासनमन्त्री गुप्ता


पर्सा-नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेकपा एमाले जनतामा आधारित पार्टी भएको र कार्यकर्ताहरू ढुङ्गाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको बताउनुभएको छ।

जिल्ला कमिटी पर्साको सहजीकरणमा नेकपा एमाले मधेश प्रदेश कमिटीले पर्सामा सोमबार आयोजना गरेको ‘पार्टी निर्माण र सुद्धीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले एमाले विचारमा प्रष्ट रहेको रहेको तथा सबल सङ्गठनका कारण नेता र नेतृत्वबीच समन्वय एवम् सहकार्य बलियो रहेको बताउनुभएको हो। जनतामा आधारित नेता-कार्यकर्ता भएकै कारण नेकपा एमाले विपक्षी पार्टीहरूभन्दा सक्षम र अगाडि रहेको दाबी उहाँले गर्नुभयो।

एमालेका कार्यकर्ता पङ्क्ति मुलुकका सबै दलहरूका भन्दा बलियो रहेको चर्चा गर्नुहुँदै उहाँले आफ्नो पार्टीका कार्यकर्ताहरू ढुङ्गाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेको पनि बताउनुभयो। पार्टी बन्न नेतृत्व चाहिने र सुविचारित र सुस्पष्ट दृष्टिकोणसहितको नेतृत्वबाट मात्रै पार्टीले गति लिने उहाँको भनाइ छ।

पार्टीले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी लगायतका नेताहरूको योगदान रहेको र पार्टी विभिन्न विचार श्रृङ्खला पार गर्दै अगाडि बढिरहेको मन्त्री गुप्ताले बताउनुभयो। एमाले जनआन्दोलन र जनपरिचालनका माध्यमबाट अघि बढिरहेको पनि स्पष्ट गर्नुभयो। ‘जनआन्दोलन भनेको जनवर्गीय सङ्गठनका माग र मुद्दालाई साथ र सहयोग गर्ने हो भने जनपरिचालन भनेको संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्ने हो,’ उहाँले भन्नुभयो।

पार्टीभित्र बहस, अन्तक्र्रिया र छलफल कम भएको उहाँको भनाइ छ। ‘बहसले मगज भुत्ते हुनबाट जोगाउँछ, अन्तरसंवादले सबल अन्तरसम्बन्ध बढाउँछ र अन्तरक्रिया सिंहावलोकन हो,’ उहाँले भन्नुभयो । संसदीय मोर्चामा रहेका साथीहरूले काम गरे÷नगरेको विश्लेषण कार्यकर्ता र शुभेच्छुकले गर्ने भएकाले एमाले कार्यकर्ताले जनतासँग स्पष्ट र पारदर्शी छबि निर्माण गर्नुपर्नेमा मन्त्री गुप्ताको जोड थियो।