अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले १४ स्थानमा  सतर्कता तह पार, नदी तटीय क्षेत्रका बासिन्दालाई चेतावनी

वर्षाले १४ स्थानमा  सतर्कता तह पार, नदी तटीय क्षेत्रका बासिन्दालाई चेतावनी


कठकाठमाडौं-लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी, बबई, मेची, नारायणी, केसलिया लगायतका १४ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ।

विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीले खतरा तह पार गरिसकेकाले नदीतटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ। मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ।

सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङका हरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ। यसैगरी झापाका अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ। २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२ मिलिमिटर वर्षा भएको छ। यसैगरी केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ।

झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ। उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ । हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ३ घण्टायता कोशी प्रदेशका थोरै स्थानहरूमा धरै भारी वर्षा मापन भएको छ।