अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकाले ‘पर्यटन वर्ष-२०८२’ को घोषणा: प्रदेशको समृद्धिमा टेवा पुग्ने मुख्यमन्त्री कार्कीको विश्वास

कोशी सरकाले ‘पर्यटन वर्ष-२०८२’ को घोषणा: प्रदेशको समृद्धिमा टेवा पुग्ने मुख्यमन्त्री कार्कीको विश्वास


विराटनगर-कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ। सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्नुभएको हो।

विराटनगरमा पर्यटन क्षेत्रका सरोकारवालामाझ मुख्यमन्त्री कार्कीले यसले समृद्धिमा टेवा पुग्ने विश्वास जनाउनु भयो।

पर्यटन वर्षमा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने प्रदेश सरकारको योजना छ। यस्तै पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ।

प्रदेश सरकारले ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरेको छ। प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालू वर्षको बजेटमा १० करोड विनियोजन गरेको छ।

कोशी प्रदेशका पर्यटकीय उपजको प्रचार-प्रसार र प्रवर्द्धन गर्दै पर्यटक आगमन सङ्ख्यालाई बढोत्तरी गर्दै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध बनाउन यो कार्यक्रम गरिएको मुख्यमन्त्री कार्कीले बताउनु भयो । उहाँले पर्यटन वर्षका कारण प्रदेशमा पर्यटकको सङ्ख्या र बसाई अवधिलाई २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको बताउनु भयो।

कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल छन्। प्रदेशमा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान खिच्न यी क्षेत्रको प्रचारप्रसार पनि प्राथमिकतामा छ। त्यस्तै पाथीभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ, मुन्दुम ट्रेलजस्ता ऐतिहासिक, धार्मिक र सामरिक महत्वका स्थान छन्।

कार्कीले भने, ‘पर्यटन प्रवर्द्धन गरी हाम्रो राष्ट्रिय पुँजी विकास गर्नु, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन वर्ष घोषणाले टेवा पुग्नेछ।’