अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झ्याप्लेखोला पहिरो अपडेट: मृत्यु हुनेको संख्या ३५ पुग्यो

झ्याप्लेखोला पहिरो अपडेट: मृत्यु हुनेको संख्या ३५ पुग्यो


काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेशी नगरपालिका-९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ जनाको पुष्टि भएको छ । 

अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन्। शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो। सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए। जसमध्ये ८ पुरुष र ६ महिला थिए।

लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो। उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो। त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिनुभयो ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उहाँले बताउनु भयो। ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन्।

त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ। मृतक चारै जना पुरुष गरेको एसपी अधिकारीले बताउनु भयो। जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन्।

निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ।