अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो


काठमाडौँ-बाढी पहिरो र डुबान लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुगेको छ। गृह मन्त्रालयका अनुसार सोमबार साँझ ७ बजेसम्मको अवधिमा बाढी पहिरोबाट निधन हुनेको सङ्ख्या २०९ पुगेको हो।

अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन्। खोज तथा उद्धारको कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। 

सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका स्थानबाट घाइते, बिरामी तथा अलपत्र परेका ४२५ जनाको उद्धार गरिएको मन्त्रालयले उल्लेख गरेको छ । 

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ।

अवरुद्ध सडक, विद्युत्, टेलिफोन लगायतका अत्यावश्यक सेवाहरू शीघ्र सुचारु गर्न सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो।

सबैखाले राहत सामग्री एकद्वार प्रणाली मार्फत वितरण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकाय र सडक विभागसँगको समन्वयमा अवरुद्ध राजमार्गहरू सुचारु गर्ने, तत्काल सुचारु गर्न नसकिने सडकको हकमा वैकल्पिक मार्ग व्यवस्थापन गरी सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ। संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध निकायहरूबाट विपद् प्रभावितहरूलाई आपत्कालीन राहत शीघ्र उपलब्ध गराउने व्यवस्थाका लागि समन्वय गरिएको छ।’

असोज १० देखि १२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला प्रभावित भएका थिए।