काठमाडौँ-कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशीको ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ। साथै आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ।
भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपासका जिल्ला भई बग्ने साना नदीहरुको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले भनेको छ।
यसैगरी, बुधबार र बिहीबार कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने सम्भावना छ। जलसतह उल्लेख्य बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ।
नेपालका ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सामान्य मात्र घटबढ हुने र सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । त्यसैले यी नदी किनारमा दुई दिन सामान्य सतर्कता अपनाउन महाशाखाले भनेको छ।
प्रतिक्रिया