अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँ अगाडि बिपी राजमार्ग सञ्चालन कठिन: भौतिक मन्त्रालय

दसैँ अगाडि बिपी राजमार्ग सञ्चालन कठिन: भौतिक मन्त्रालय


काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा नआउने जानकारी दिनुभएको हो।

उहाँले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडि बिपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गर्नुभयो। 

खुलाउने प्रयास भने जारी राखिने उहाँको भनाइ छ। खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उहाँले स्पष्ट पार्नुभयो। 

उहाँले भन्नुभयो, ‘बिपी राजमार्गको अवस्था देख्दाखेरी दसैँ अगाडि त्यो खुल्ने सम्भावना छैन। हामी त्यो निष्कर्षमा पुग्यौँ। काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरु रहेका छन्। गाडीका स्टाफ गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दसैँ अगाडि अड्किएका गाडीहरु ल्याउने प्रयास गर्छौ। त्यो उद्धार मात्रै हुन्छ। सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ। धेरै ठाउँमा बिग्रिएको छ।’

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइएको छ।  क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ।