अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा प्रदेश लगानी सम्मेलनको तयारी सुरु

कोशीमा प्रदेश लगानी सम्मेलनको तयारी सुरु


विराटनगर-कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोसी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ।

गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम सुरु भएको हो। कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको छ। शुक्रबार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ। 

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताउनु भयो। उहाँले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौति छन् पिपलको बोट उम्रिएजस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो।

कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ। 

यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र संघसंस्थालाई समेटिएको छ। त्यस्तै दसैँअघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ।

कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ।