अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने, चारसय वटा कार्यपत्र प्रस्तुत गरिने

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने, चारसय वटा कार्यपत्र प्रस्तुत गरिने


काठमाडौं- जनसंख्या र विकासका पछिल्ला मुद्दाहरुमा बहस गर्न एशियाली जनसंख्या सम्मेलन (एपिसी)को छैटौं श्रृंखला नेपालमा हुने भएको छ। त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिसएस)को आयोजनामा आगामी मंसिरको १२ देखि १५ गतेसम्म सम्मेलन हुन लागेको हो। सम्मेलनको मुल आयोजक सिडिपिएसले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार करीब आठ सय प्रतिनिधि यो सम्मेलनमा सहभागी हुने भएका छन्।

पत्रकार सम्मेलनमा प्रा.डा.योगेन्द्रबहादुर गुरुङले १७ वटा थिममा सम्मेलनमा करीब ४०० कार्यपत्र पेश गरिने जानकारी दिनुभयो। सम्मेलनमा विश्वको जनसंख्यिक परिदृष्य,जनसंख्यिक प्रवृति,यसको सामाजिक, राजनीतिक प्रभावका बारेमा ब्यापक छलफल हुने जानकारी दिनुभयो। गुरुङले जारी गरेको प्रेस नोटमा जनाइए अनुसार सम्मेलनमा नेपालको जनसंख्याका पछिल्ला विशेषताहरुमा आधारित रहेर ‘नेपाल स्पेसल सेसन’सञ्चालन हुनेछ।

‘जनसंख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवका क्षेत्रमा नीतिका बारेमा पुनविर्चारको आवश्यकता औल्याएका छन्’ प्रेस नोटमा भनिएको छ ‘सम्मेलनले सरकारलाई यस विषयमा पनि काफी पृष्ठपोषण प्रदान गर्नेछ। ’ सम्मेलनले जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तराष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने विश्वास गरिएको छ। ‘यो सम्मेलनले विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्न प्रमाणमा आधारित विकासमा जोड दिनु पर्ने आवश्यकतालाई थप बढावा दिने अपेक्षा गरिएको छ।’

सम्मेलन सफल पार्न प्रा.डा.गुरुङको संयोजकत्वमा एक समिती गठन गरिएको छ। सो समितीमा सिडिपिएसका सदस्य सचिव सहप्राध्यापक डा.पद्ध्म प्रसाद खतिवडाले सम्मेलन सफल पार्न मुख्य तीनवटा समिती गठन गरिएको बताउनुभयो । उहाँका अनुसार सल्लाहकार/सहजिकरण समिती,राष्ट्रिय आयोजक समिती र सचिवालय गठन गरिएको छ। ती समिती मातहत रहने गरी अन्य ६ वटा उपसमिती गठन गरिएको छ।

चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा करिब ५ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ। सम्मेलनमा सहभागीहरुका लागि दर्ता शुल्क अनिवार्य गरिएको छ। दर्ता शुल्क ७०००, १००० र १३००० रुपैंया तोकिएको छ। सञ्चारकर्मीका लागि निश्चित संख्यामा प्रेस पास उपलब्ध गराउने जनाएको छ। हालसम्म दक्षिण एशिया बाहेकका देशबाट १०० जना,दक्षिण एशियाबाट १७० जना र नेपालबाट १०० जनाले सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेको सिडिपिएसका सहप्राध्याक डा.उद्ध्व सिग्देलले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा जनसंख्या र विकासका लागि साँसदहरुको राष्ट्रिय मञ्च नेपालका महासचिव डा.भिष्म अधिकारीले नेपालमा हुन लागेको जनसंख्या सम्मेलनले राजनीति,जनसंख्या र विकासलाई कसरी एक अर्कासँग आश्रित गराउने भन्ने बारेमा दिशानिर्देश गर्ने बताउनुभयो। नेपालको लागि यो सम्मेलन ठूलो अवसर भएकोले सबै पक्ष यसलाई सफल पार्नका लागि लागि पर्नुपर्ने बताउनुभयो।