अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बदलिँदो दशैं, बदलिंदो जीवन शैली

बदलिँदो दशैं, बदलिंदो जीवन शैली

आजको दशैंमा प्रविधिको प्रभाव पनि देख्न सकिन्छ । पहिले दशैंमा आफन्त र साथीभाइ भेट्न टाढा–टाढा यात्रा गर्नुपर्ने हुन्थ्यो, तर आजकल मोबाइल फोन र सामाजिक सञ्जालमार्फत दशैंको शुभकामना आदान–प्रदान गर्न सकिन्छ ।




हरेक नेपालीको जीवनमा दशैँ पर्वले खास अनि विशेष महत्व राख्छ । यो पर्वले हाम्रो संस्कृति, परम्परा, र पारिवारिक सम्बन्धलाई बलियो बनाउने काम गर्छ । परम्परागत ढंगले मनाइने दशैं गाउँघरको बसोबास र रमझममा केन्द्रित हुन्थ्यो । दशैंको आगमनसँगै गाउँमा एक किसिमको उल्लासमय वातावरण सिर्जना हुन्थ्यो, जसले परिवार र समुदायलाई नजिक ल्याउँथ्यो। तर समयसँगै दशैंको रूप र शैलीमा परिवर्तन आएको छ । शहरीकरण, आधुनिक जीवनशैली, र व्यस्त दिनचर्याले गर्दा दशैंको पुरानो रूप गुम्दैछ । यसलाई बिस्तारै गुमाउँदै छौं ।
बाल्यकालीन दशैंः संखुवासभाको माम्लिङ्गको सम्झना
बाल्यकालको दशैंको सम्झना भने जहिले पनि ताजा र झल्झली आउँछ । पहाडी जिल्ला संखुवासभाको सुन्दर गाउँ माम्लिङ्गमा बिताएको समय अझै पनि स्मृतिमा ताजै छ । माम्लिङ्गमा दशैं आउँदा गाउँमा विशेष उत्साह छाउँथ्यो । दशैं सुरु हुनुअघि नै घरघरमा सफा गर्ने काम सुरु हुन्थ्यो । घरका सबै सदस्य मिलेर घर लिपपोत गर्थे । माटो लगाएर पुराना पर्खाल र भुइँ सजाउने, गोबरले घर सफा गर्ने, र चुन छ्यापेर घरलाई उज्यालो पार्ने काम निकै रमाइलो हुन्थ्यो । यो सामूहिक प्रयासले परिवारलाई एकतामा बाँध्थ्यो । यो काम गाउँका अरू घरहरूमा पनि हुन्थ्यो, जसले गर्दा सारा गाउँ नै सफा र चिटिक्क देखिन्थ्यो ।
चिउरा कुट्ने परम्परा
दशैंको अर्को रमाइलो तयारी चिउरा कुट्ने थियो । ढिकीमा बिशिष्ट खालको मुस्लीको प्रयोग गरेर चिउरा बनाउने चलन थियो । त्यसकारण यो काम विशेष गरी दशैंका लागि गरिन्थ्यो, किनकि दशैंमा चिउरा प्रसादको रूपमा प्रयोग गरिन्थ्यो । भगवानलाई चढाइसकेपछि मात्र चिउरा खान पाउँथ्यौं, त्यसैले दशैंमा चिउराको प्रतीक्षा गर्ने उत्साह विशेष हुन्थ्यो । बाल्यकालमा दाजुभाइ मिलेर काउलेको अलैँची बारीबाट दाउरा ल्याएर दाउराको हार बनाउने काम गथ्र्यौँ ।
दशैंको सामूहिकता
गाउँमा दशैंको सामूहिकता विशेष थियो । गाउँका मानिसहरूले दशैंको तयारी गर्न सामूहिक रूपमा काम गर्थे । मुल बाटो घाटो सफा गर्ने, झार ज‌ंगल फाँड्ने, बाटो सजाउने कार्यले गाउँलाई थप व्यवस्थित र आकर्षक बनाउँथ्यो । गाउँका सबै परिवार एकैठाउँमा बसेर काम गर्थे, जसले गर्दा सम्बन्धहरू अझ बलियो बन्थे । तर आज त्यो सामूहिकता धूमिल बन्दै गएको छ । गाउँका मुख्य बाटाहरूमा अहिले त मान्छे नै भेट्न मुस्किल पर्छ । बसाइँ सराइ र आधुनिकताको शिकार केवल भूगोल मात्र भएको छैन, सँगसँगै दशैँ र सामूहिकता पनि चपेटामा परेको आभाष भैरहेको छ ।
खसी काट्ने परम्परा
दशैंको मुख्य आकर्षण भनेकै खसी काटेर मासु पकाउनु थियो। दशैं आउँदा सबैजसो घरमा खसी काट्ने र मासु खाने तयारी हुन्थ्यो । मासुको बास्ना, अचार, र अन्य परिकारले गाउँ पूरै उत्सवमय हुन्थ्यो । मासु पकाउने अनि खुवाउने त्यो रमाइलो क्षण अद्भुत थियो । खसीको मासु खाएर परिवार र छिमेकीसँग बसेर खाजाको मज्जा लिनु बाल्यकालको प्रिय क्षणहरू थिए ।
सप्तमीमा सुँगुर र राँगाको बलि
हाम्रो गाउँदेखि माथि मगर समुदायको बस्ती थियो, जहाँ सप्तमीको दिन सुँगुर काट्ने चलन थियो । हामी सबैजना त्यहाँ हेर्न जाने, फाक्सा चपाउने र उनीहरूसँग रमाइलो गर्ने गर्दथ्यौ ं। अलिक तल याख्खा समुदायले दशैंमा राँगाको बलि दिने गर्थे । हामी हस्यागँ फस्यागँ गर्दै दौडिएर त्यो बलि हेर्न जान्थ्यौं । यसरी विभिन्न समुदायहरूको दशैंको परम्परा देखेर रमाउने काम पनि बाल्यकालमा विशेष हुन्थ्यो । हाम्रा गाउँमा मात्र नभएर विभिन्न जातजातिका परम्पराले पनि दशैँलाई विविधतायुक्त बनाइदिएको थियो । ती परम्परागत उत्सवहरू केवल रमाइलो मात्र थिएनन्, तिनले सामाजिक बन्धनलाई पनि थप मजबुत बनाउँथे ।
टिकाको लर्को
दशमीको दिनको अर्को आकर्षण टिकाको लर्को थियो । परिवारमा टीका लगाइसकेपछि मान्यजनकहाँ टिका थाप्न जाने चलन थियो । गाउँका १०–१२ वटा नेपाल परिवारका घरमा टीका लगाउन जाने गर्दा ५०–५२ जनासम्मको लर्को हुन्थ्यो । सबैजना हाँस्दै, बोल्दै, रमाउँदै एकसाथ हिँड्ने त्यो दृश्य अझै पनि स्मृतिमा ताजा छ । यसरी एउटै लर्कोमा टीका थाप्न जाँदाको त्यो क्षण वास्तवमै मनमोहक हुन्थ्यो । सबै मिलेर हाँस्दै, रमाउँदै, टीका लगाउन जाने क्रममा सामाजिक सम्बन्ध बलियो हुने मात्र होइन, नयाँ पुस्ताले पुराना परम्पराहरू बुझ्ने र सिक्ने अवसर पनि पाउँथ्यो । साथै गाउँको यो परम्पराले सामाजिक सम्बन्धलाई अझ बलियो बनाउँथ्यो ।
बदलिँदो दशैंः आधुनिक जीवनशैलीमा गुमाउँदै गएको परम्परा
आज समयसँगै दशैंको यो स्वरूपमा ठूलो परिवर्तन आएको छ । शहरीकरण र व्यस्त जीवनशैलीका कारण गाउँको दशैंको त्यो रमाइलो वातावरण शहरी क्षेत्रमा निकै फरक देखिन्छ । शहरी क्षेत्रमा मानिसहरू दशैंलाई लामो बिदाको रूपमा लिने र यो समयलाई यात्रा, आराम, वा अन्य व्यक्तिगत काममा बिताउने गरेका छन्, जबकि पहिलेको दशैं परिवार, आफन्त, र समुदायसँगै बिताउने पर्व थियो, अहिलेको दशैंमा त्यो भावना क्रमशः गुम्दै गएको छ ।
आर्थिक परिवर्तन र दशैंको महत्व
दशैंमा देखिएको अर्को परिवर्तन भनेको आर्थिक पक्ष हो । पहिले दशैंमा नयाँ लुगा र खसीको मासु पाउनु विशेष कुरा थियो । गाउँमा धेरै परिवारहरूका लागि दशैंको तयारी गर्नै आर्थिक रूपले चुनौतीपूर्ण थियो । आज भने गाउँका मानिसहरूको जीवनस्तर पनि बढेको छ, जसले गर्दा दशैंको आर्थिक पक्ष पनि बदलिएको छ । अब नयाँ लुगा, खसीको मासु, र अन्य परिकारहरूको लागि ठूलो खर्च गर्नु सामान्य कुरा बनेको छ । तर यो आर्थिक वृद्धि सँगै दशैंको वास्तविक भावना र परम्परागत मूल्यहरू बिस्तारै हराउँदै गएको आभास भएको छ ।
दशैं र प्रविधि
आजको दशैंमा प्रविधिको प्रभाव पनि देख्न सकिन्छ । पहिले दशैंमा आफन्त र साथीभाइ भेट्न टाढा–टाढा यात्रा गर्नुपर्ने हुन्थ्यो, तर आजकल मोबाइल फोन र सामाजिक सञ्जालमार्फत दशैंको शुभकामना आदान–प्रदान गर्न सकिन्छ । यसले सम्बन्धलाई डिजिटल बनाएको छ । जबकि प्रविधिले दूरी कम गरेको छ, यसले व्यक्तिगत भेटघाट र सजीव सम्बन्धलाई भने पन्छाउँदै लगेको छ । त्यो बेला केवल रेडियो र टेलिभिजन मात्र मनोरञ्जनका साधन थिए ।
दशैंमा यात्राको बढ्दो चलन
पहिले दशैं आउँदा परिवारको घर फर्कने र आफन्तसँग समय बिताउने चलन थियो । तर अहिले धेरैजसो शहरी क्षेत्रका मानिसहरू दशैंको छुट्टीमा नयाँ स्थान घुम्न जाने गर्छन् । दशैंको समयमा पर्यटकीय गन्तव्यहरूमा मानिसहरूको भीड बढ्दो छ । यसले दशैंको पारिवारिक पक्षलाई कमजोर बनाएको छ, किनकि धेरैजसो मानिसहरू आफन्तसँग भन्दा छुट्टीमा जाने प्रवृत्तिमा लागेका छन् । यसमा पहिलेको भन्दा निकै फरक प्रवृत्तिको विकास हुँदै गएको छ ।
दशैंको सांस्कृतिक महत्व
दशैंमा परिवर्तन देखिए तापनि यसको सांस्कृतिक महत्व भने अहिले पनि उस्तै छ । दशैंले नेपालभरिका जातीय समूहहरू, धर्मावलम्बीहरू, र भाषाभाषीहरूलाई एकतामा बाँध्छ । यो पर्व धार्मिक र सांस्कृतिक विविधता भित्रको एकता झल्काउँछ । दशैंले परिवार, छिमेकी र साथीहरूबीचको सम्बन्ध बलियो बनाएको छ । टीका लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा आज पनि उस्तै महत्वपूर्ण छ । यो परम्पराले हरेक नेपालीलाई आफ्नो पहिचानसँग जोड्ने काम गरेको छ ।
नयाँ पुस्ताको दृष्टिकोण
नयाँ पुस्ताले दशैंलाई केही फरक तरिकाले हेर्दै आएको छ । पहिलेका पुस्ताले परम्परागत र धार्मिक रूपमा दशैंलाई मनाउँथे भने अहिलेका युवा पुस्ताले दशैंलाई बिदाको अवसर र रमाइलो समयको रूपमा लिन्छन् । नयाँ पुस्ताका लागि दशैंमा यात्राको योजना बनाउने, साथीहरूसँग घुमफिर गर्ने, र मनोरञ्जनात्मक गतिविधिहरूमा सहभागी हुने प्रवृत्र् िदेखिएको छ । तर, यससँगै उनीहरूलाई दशैंको परम्परागत महत्व बुझाउने प्रयास भने गर्न आवश्यक देखिन्छ । पुरानो पुस्ताले मनाएको दशैँ संस्कार अहिलेका पुस्ताका लागि एकादेशका कथा जस्तै हुन पुगेका छन् ।
समग्रमा हेर्दा दशैंको रूप र शैलीमा परिवर्तन आएको भए पनि यसको मूल भावना अझै जीवित छ । बदलिँदो समाजसँगै दशैं पनि समयानुकूल परिवर्तन भएको छ, तर यसले पारिवारिक सम्बन्ध, सामूहिकता, र सांस्कृतिक पहिचानलाई अझै बलियो बनाइरहेको छ । दशैंले हामीलाई हाम्रा परम्परा र सांस्कृतिक जरा सम्झाउने काम गर्छ । यसलाई बदलिँदो परिस्थितिमा पनि जीवन्त राख्नु महत्वपूर्ण छ । दशैँ अनि यससँगै आउने उत्साहलाई कायम राख्दै जीवन्तता कायम राख्नु जरुरी भैसकेको छ । गाउँघरमा मनाएको पहिलेको जस्तै दशैँमा उत्साहको अनुभूति अब कहिले गर्न पाइएला र ?