अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन शिलान्यास


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ।

भाटभटेनी सुपर मार्केटका  संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो। उहाँले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाउनुभयो।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो।

व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताउनुभयो। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थियो। 

२०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँ महानगरपालिका-१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्तपछि बल्खुबाट २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सारिएको थियो। प्रतिष्ठानसँगको सम्झौता सकिएपछि २०७८ वैशाखबाट करिब एक वर्ष थापाथली हाइटमा एमाले कार्यालय सञ्चालन गरिएको थियो। त्यसपछि नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा २०७८ वैशाख देखि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारियो।

बिहीबार बसेको एमाले सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।