विराटनगर-कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीहरूको महान् चाड बडादसैँको शुभअवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्नुहुँदै ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ का रूपमा रहेको नेपालीहरूको महान् चाड दसैँले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल काम गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस् भनी कामना गर्नुभएको छ। “दसैँका अवसरमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्व अझ बढी छ। हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान गरिरहेका छन्”, शुभकामना सन्देशमा भनिएको छ।
यस्तै उहाँले चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावसँगै दसैँ मनाउन आग्रह गर्नुभएको छ। “कोसी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एकआपसमा सहयोग, सद्भाव र भ्रातृत्वका साथ यस वर्षको दसैँ मनाउन आग्रह गर्दछु । विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरुरी छ”, उहाँले भन्नुभएको छ।
प्रतिक्रिया