अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजले बचायो ज्यान

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलेजले बचायो ज्यान


काठमाडौं – नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा लाग्दा गम्भिर भएका सिन्धुपाल्चोक भोटेचौरका रोविन तामाङको मिर्गौला नै चिरिएकोमा कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जनले सफल शल्यक्रिया गरेका हुन् ।

उनको असोज २० गते नेपाल मेडिकल कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. वेश अन्सारीको टीमले शल्यक्रिया गरी मिर्गौला जोडिदिएका हुन् । ‘अत्याधिक रक्तस्रावका कारण मिर्गौला नै छोपिएको थियो, पछि सिटी स्क्यान गरेर हेर्दा मात्रै मिर्गौला काटिएको देखियो । त्यसबेलासम्म शरीरमा रगतको मात्रा घटिसकेको थियो ।’ कलेजका युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा।वेश अन्सारीले भन्नुभयो,‘त्यसपछि तत्कार्ल शल्यक्रिया गरी सिलाएर जोड्यौं । अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।’ मिर्गौलाको शल्यक्रियामा डा. अन्सारीलाई कलेजका रेजिडेन्ट डा. विधान र डा. हेमन्तले साथ दिनुभएको थियो ।

असोज १७ गते बिहीबार विहान माकलबारीस्थित मनकामना फुटसलमा फुटवल खेल्ने क्रममा रोविन विपक्षी खेलाडीको घुँडाले करङ मुनी लागेर त्यही ढलेका थिए । त्यसपछि साथीभाईहरुले उठाएर घर पठाए । करङ मुनीको भागमा अत्याधिक दुखाई भइरहेपनि उनी सोही दिन मनकामना स्कुलमा परीक्षा दिन गएका थिए । परीक्षा सकेर घर पुग्दासमेत दुखाई कम नभएपछि उनको परिवारले दिउसो १ बजे नेपाल मेडिकल कलेजको इमरजेन्सीमा उपचारार्थ ल्याएका थिए ।

डा. अन्सारीका अनुसार रोविनको कम्मरमाथीको भागमा घुँडाले लाग्दा मिर्गौलामै चोट लागेको हो । ‘दुर्घटना हुँदा मिर्गौलालाई चोट लाग्ने संभावना हुन्छ । तर, फुटवल खेल्दा नै झण्डै मिर्गौला नै दुई टुक्रा हुने अवस्था हुनु नौलो विषय रह्यो ।’ उहाँका अनुसार रोविनको मिर्गौला पूर्णरुपमा स्वस्थ हुने केही महिना लाग्छ । ‘शल्यक्रिया राम्रो भएको छ । दुवै मिर्गौलाले राम्ररी काम गरिरहेको छ ’ डा. अन्सारीका अनुसार यदी शल्यक्रियामा ढिलाई भएको भए उहाँको मिर्गौलाले कामै गर्न नसक्ने अवस्था थियो ।

आफ्नो छोराको मिर्गौला नै सिलाउनु पर्ने भएपछि चिन्तित आमा रोजी तामाङले शल्यक्रिया सफल भएपछि उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । ‘मेरो छोराको अवस्था देखेर सारै डर लागेको थियो । डा. सावहरुले गरेरै देखाउनु भयो । मेरो छोराको ज्यान बचाइदिनु भएकोमा उहाँहरु सबैलाई धन्यवाद दिन्छु ।’