अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक स्थायित्वका लागि बलिया दलको आवश्यकता छ: शंकर पोखरेल

राजनीतिक स्थायित्वका लागि बलिया दलको आवश्यकता छ: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभएको छ।

मंगलबार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ३ दाङको आयोजनामा पालिका कमिटीका नवनिर्वाचित नेताहरूलाई बधाई तथा प्रशिक्षण दिन तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले मुलुक निर्माणको लागि तीनवटा कुरा आवश्यक रहेको बताउनुभयो। ‘मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक छ, यी चिज दिन सक्यो भने मात्र मुलुक विकासको गतिमा अघि बढ्न सक्दछ’, पोखरेलले भन्नुभयो। 

आज जो सबैभन्दा बढी गैरजिम्मेवार छ राजनीतिमा उही नै बढी चर्चामा आउने विडम्बनापूर्ण स्थिति भएको उहाँले बताउनुभयो। बैङ्कबाट ऋण लिएर नतिर्ने, सहकारी ठग्नेहरू आज राजनीतिको चर्चामा रहेका पोखरेलको भनाइ छ। ‘जबसम्म अराजकहरू लोकप्रिय हुन्छन् समाजमा, तबसम्म त्यो समाजले प्रगति गर्न सक्दैन’, पोखरेलले भन्नुभयो। 

सामाजिक सञ्जालमा आज सबै खराब कुरा मात्र देखिने गरेका उहाँले बताउनुभयो। सामाजिक सञ्जाल समाजका अराजकहरूले कब्जा गरेका कारण यो स्थिति आएको उहाँको धारणा छ। 

पोखरेलले युरोप, अमेरिकाको सपना देखेर मात्र नहुने बताउँदै देशलाई त्यस्तै बनाउन बलिया राजनीतिक दल आवश्यक रहेको बताउनुभयो । युरोप, अमेरिका बलिया राजनीतिक दलले बताएका उहाँले स्पष्ट पार्नुभयो। 

प्रचारबाजहरूले देशमा विकास र समृद्धि दिन नसक्ने उहाँले बताउनुभयो। लोकप्रियतावादका आधारमा दृष्टिकोण नभएकाहरू नेता बन्दा देश भड्खालोमा पर्ने पोखरेलले बताउनुभयो। 

निराशाको बिचमा देशको विकास हनु नसक्ने पोखरेलले बताउनुभयो। विकासको लागि आशा जाग्नै पर्ने र नागरिकमा आशा जगाउनु पर्ने पोखरेलले स्पष्ट पार्नुभयो। ‘कुनै पनि देशको विकास र समृद्धि निराशामा हुनै सक्दैन’, उहाँले भन्नुभयो। 

देशमा केही पनि भएन भन्नेहरूले यो बिचमा भएका विकासका काम हेर्न उहाँले आग्रह गर्नुभयो। भएका कुराको समेत चर्चा गर्न नसक्दा अराजकतावादीहरूका हाबी भएको पोखरेलले बताउनुभयो । ‘हामी भएका कुराको पनि चर्चा गर्न नसक्ने भयौँ’, पोखरेलले भन्नुभयो। 

मुलुक बनाउनको लागि सकारात्मक कुरा जनताको बिचमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो। नकारात्मक कुराले मुलुकलाई उँधोगतिमा लैजान पोखरेलको भनाइ छ। 

कमजोरहरूले शासन गर्दा जनताको अपेक्षा पुरा गर्न नसकिने उहाँले बताउनुभयो। त्यसैले मुलुकमा बलिया राजनीतिक दलले शासन गर्नुपर्छ भनेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखलेले स्पष्ट पार्नुभयो।

गठबन्धनले नीतिमा सम्झौता गराउने बताउँदै पोखरेलले नीतिमा सम्झौता गरेपछि विकास र समृद्धिको काम अघि नबढ्ने बताउनुभयो। त्यसैले आउने चुनाव कांग्रेस र एमालेले एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेका पोखरेलले बताउनुभयो । आउने निर्वाचनमा नेकपा एमालेलाई निर्णायक शक्ति बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। 

पोखरेलले अब सानातिना पार्टीबाट देश नबन्ने बताउनुभयो । देश बनाउने हो भने सबैलाई एमाले पार्टीमा आबद्ध हुन पोखरेलले आग्रह गर्नुभयो। 

पोखरेलले नेकपा एमालेलाई अब काम नगर्नेहरूको कमिटी होइन, काम गर्नेहरूको कमिटी बनाउनु पर्ने बताउनुभयो । कमिटी ओगटेर बस्ने परिपाटीलाई अब अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमाले जनताका समस्यासँग जोडिनु पर्ने बताउँदै पोखरेलले एमालेका कमिटीले जनताका समस्यामा केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो । ‘कमिटीको काम जनताको समस्या समाधान गर्न भूमिका खेल्ने हो’, पोखरेलले भन्नुभयो। 

पोखरेलले सही नीतिले मात्र काम नगर्ने बताउँदै त्यसको सही ढङ्गले प्रयोग हुने पर्ने बताउनुभयो । वैचारिक, राजनीतिक कामलाई पार्टी कामको महत्त्वपूर्ण विषय बनाएर अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो। 

राजनीतिमा युवालाई जोड दिनुपर्ने बताउँदै उहाँले युवाको विदेश पलायन देशको लागि चुनौती भएको बताउनुभयो । राजनीतिमा युवा सहभागिता भएन भने देशको विकास पनि ओझेलमा पर्ने पोखरेलले स्पष्ट पार्नुभयो।