अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन


काठमाडौँ-निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। 

बिहीबार आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जारी गरेको विज्ञप्ति अनुसार, गत असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो।

‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेस गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

आयोगले यसअघि नै उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार स्थानीय तहमा ४० पद रिक्त छन् । १ नगरपालिका प्रमुख, १ नगरपालिका उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष, २ जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन् । यसैगरी २१ नगरपालिका वडाध्यक्ष र ९ गाउँपालिका वडाध्यक्षको पद पनि रिक्त छ।