अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो सरकार काम गर्नका लागि बनेको हो: मन्त्री दाहाल

यो सरकार काम गर्नका लागि बनेको हो: मन्त्री दाहाल


रामेछाप-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सत्तारुढ दलका नेता कार्यकर्ताहरू एक आपसमा जुधेर होइन, मिलेर काममा लाग्नु पर्ने बताउनुभएको छ।

रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदी माथि खुर्कोटको बेलीब्रिज निर्माणमा संलग्न नेपाली सेना लगायतलाई धन्यवाद दिन मंगलबार मन्थली नगरपालिकाले खुर्कोटमा आयोजना गरेको कार्यक्रमका बोल्दै मन्त्री दाहालले सरकारले गरेको काममा जस लिन हानाथाप गर्न आवश्यक नरहेको बताउनुभयो।

गत असोज १२ गतेको बाढीले बगाएको खुर्कोटको पुलमा बेलीब्रिज राख्ने काममा सबैको भूमिका रहेको दाहालले स्पष्ट पार्नुभयो। ‘यो सरकार काम गर्नका लागि बनेको हो, यो सरकारले आफ्नो गतिमा काम गरिरहेको थियो, काम गर्दा गर्दै बाढी पहिरोले एउटा वितण्डा मच्चायो र एउटा नयाँ परिस्थितिको सिर्जना गरिदियो’, उहाँले भन्नुभयो।

उहाँले सरकारका प्राथमिकता अब केही परिवर्तन भएका बताउनुभयो। यस पटकको बाढी पहिरोले सडक र पुललाई बढी क्षति पुर्‍याएको उहाँले सुनाउनुभयो। भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै साँढे ६ अर्ब रुपैँया बढीको क्षति भएको दाहालले जानकारी दिनुभयो। त्यसको पुनर्निर्माण लागि १५ अर्ब ३३ करोड बढी रकम लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । त्यसैले अब सरकोले प्राथमिकता तोकेर काम गर्नुपर्ने स्थिति रहेको उहाँले स्पष्ट पार्नुभयो।

मन्त्री दाहालले बाढीले क्षति पुर्‍याएका संरचना मध्ये पहिलो प्राथमिकता खुर्कोटको पुललाई दिएर निर्माण गरेको बताउनुभयो। बिपी राजमार्ग निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो। बिपी राजमार्ग १२ किलोमिटर पुरै बगाएको बताउँदै उहाँले सडक निर्माणको लागि जापान सरकारलाई अनुरोध गरिने र उसले नगरे सरकारले आफैँले गर्ने उहाँले स्पष्ट पार्नुभयो।

बेलीब्रिज बनेका ठाउँमा स्थायी पुल निर्माणको काम अघि बढाउने उहाँले बताउनुभयो । अब तत्कालको प्राथमिकता सुनकोशी नदीकै फोक्सिङटारको पुल निर्माण गर्ने रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै ताप्लेजुङको हेवाखोला पुल सरकारको तेस्रो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो।

जनताको जिम्मा सरकारले लिनु पर्ने बताउँदै उहाँले सरकारले बाढी पहिरो प्रभावितको उद्धारको काम सकिएकोले अब राहत र पुनर्स्थापनाको काम हुने पर्नेमा जोड दिनुभयो। अहिले अस्थायी पुनर्स्थापनाको काम भइरहेको बताउँदै उहाँले अब स्थायी पुर्नस्थापनाको काम अघि बढ्ने बताउनुभयो।

अब आवास निर्माण गर्दा नदी र खोला किनारमा आवास बनाउन नहुने पाठ सिकिएको दाहालले बताउनुभयो । जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन नहुनेमा उहाँले जोड दिनुभयो । सरकारले नागरिकलाई रोजगारसँग जोडेर पुनर्स्थापनाको काम अघि बढाउने दाहालले जानकारी दिनुभयो।