अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडकमा भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी

सडकमा भिड जम्मा पारेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलको चेतावनी


काठमाडौं-सत्तारुढ दलहरूको बैठकले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि नेपपा एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको पनि सत्तारुढ दलको निष्कर्ष निकालेको बताउनुभयो। 

‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘ छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन।’

उहाँले नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै नयाँ भनिएका राजनीतिक दल त्यसमा पनि रास्वपाले जुन प्रकारको संस्कार प्रस्तुत गरेको छ त्यसले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहने बताउनु भयो।

बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराउनु भएको थियो।

उहाँले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिषाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताउनु भयो।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति  पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत सहभागी थिए।