अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन: शंकर पोखरेल

प्रचण्ड सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित अन्य दल सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले  जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाउनु भएको छ।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले बाढीपहिरोको बेलामा प्रतिपक्षी दलले सघाउनुको सट्टा कुण्ठाग्रस्त व्यवहार गरेको लेख्नुभएको छ। अझ भन्ने हाे भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन नसकेकाे उहाँले दाबी गर्नुभएको छ। ‘सङ्कटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुन्छ’, पोखरेलले लेख्नुभएको छ। 

 सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताउनु भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जाजरकोट भूकम्पका बेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी, पहिरो र डुबानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लागेको उहाँले टिप्पणी गर्नुभएको छ।

‘जाजरकोट भूकम्पका बेला न सडक अवरुद्ध थियो, न त मौसमी प्रतिकुलता नै थियो, निराश बनेका जनतामा आशा जगाउन त्यति बेलाको प्रमुख प्रतिपक्ष राज्य पक्ष भन्दा अगाडि बढेर राहत र उद्धारमा जुटेको थियो, यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ’, महासचिव पोखरेलले लेख्नु भएको छ। 

यस पटकको बाढी, पहिरो र डुबानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय रहेको उहाँले उल्लेख गर्नुभएको छ। ‘राजधानी जोडने सबै बाटाहरू अवरुद्ध भएका थिए, प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध थिए, लगातारको वर्षातका कारणले भिजिबिलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो, त्यस्तो अवस्थामा राज्यका निकायले उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन, तर सत्ता वियोगको छटपटीबाट बाहिर निक्लन नसकिरहेको प्रमुख विपक्षी दल जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ’, उहाँले लेख्नुभएको छ। 

यस पटक सरकार विपद् पर्यटनलाई रोक्न पूर्णतः सफल भएको उहाँको दाबी छ। जाजरकोट भूकम्पको बेलामा भएको जस्तो विपद् पर्यटनको पीडा बाढी पहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु नपरेको पोखरेलको ठहर छ। ‘यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो’, पोखरेलले लेख्नु भएको छ। 

क्षतिग्रस्त सडक सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सफलता प्राप्त गरेको उहाँको दाबी छ। बिपी राजमार्गको दुरावस्था देखेकाको लागि राज्यका निकायले गरेको काम निकै प्रशंसनीय रहेको उहाँले उल्लेख गर्नुभएको छ। ‘खुर्कोट–रामेछाप जोड्ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेली ब्रिज जडान गर्ने कुरामा नेपाली सेना र प्राविधिकहरूले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो, तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा गरेर आलोचनाका लागि आलोचनामा केन्द्रित छ’, उहाँले लेख्नु भएको छ ।

माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए।