अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः उपमहासचिव ज्ञवाली

सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः उपमहासचिव ज्ञवाली


झापा-नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताउनुभयो।

नेकपा एमाले झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गर्नुभयो।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उहाँले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो । उहाँले यो सरकारले अस्थिरताको अन्त्य गर्नेसमेत कार्यकर्तालाई आश्वासन दिनुभयो।

नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन।’

उहाँले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिनुभएको छ। पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले नेता ज्ञवालीलाई जिल्लाको समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो।