काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेर्न चुनौती दिनुभएको छ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।
आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्न सक्छन् सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौं भन्ने । ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।’
हतियार बिसाएका मात्रै हौँ भनेर दिइने धम्कीप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले माटामुनी लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गर्नुभयो।
राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको उहाँले बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि। एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छाैं, चुट्छौँ, मार्छाै, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताउनु भयो । उहाँले राष्ट्रका लागि आवश्यक परे पूर्व सुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा जथाभावीरुपमा प्रस्तुत हुनेहरुलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि स्पष्ट गर्नुभयो।
प्रतिक्रिया