अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने

दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने


काठमाडौँ-नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको दुई दलीय राजनीतिक संयन्त्रको कार्यदलको संयोजन दुई दलले पालैपालो गर्ने भएका छन् ।

मंगलबार बसेको दुई दलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले दुई दलले एक-एक महिना पालैपालो कार्यदलको संयोजन गर्ने निर्णय गरेको हो।

कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालोपालो गर्ने निर्णय गरेसँगै पहिलो महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बैठकको संयोजन गर्नुहुनेछ। त्यसपछि कार्यदलको संयोजन एमाले नेताले गर्नेछन् ।

सत्तारुढ दल कांग्रेस र एमालेले वर्तमान संयुक्त सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरेका थिए। संयन्त्रको कार्यदलमा कांग्रेस र एमालेका चार/चार जना नेता रहेका छन्।

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री  गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हुनुहुन्छ। 

नेकपा (एमाले) को तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल हुनुहुन्छ। यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।

प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने दुई दलको निर्णय छ। प्रदेशमा तीन-तीन जना जना रहने गरी संयन्त्र विस्तार गर्ने र जिल्लामा दुई-दुई जना रहने गरी संयन्त्र बनाइने जनाएको छ।

त्यसैगरी संयन्त्रले चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय गरेको छ। दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्नेछ।