काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो।
बैठकले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ। बैठकले निर्वाचनको लागि सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ।
‘निर्णय भई आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिंगो पार्टी पंक्तिलाई निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’, बैठक पछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो।
स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उहाँले बताउनु भयो।
बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उहाँले जानकारी दिनु भयो। बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो।
बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उहाँले बताउनु भयो। सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ। दुई दलको बीचमा निरन्तर संवाद र सहमतिका लागि कार्यदल बनेको उहाँले जानकारी दिनु भयो।
त्यस्तै, कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी माथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । उहाँलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ। उहाँ माथि हुने छानबिनमा पार्टीले पूर्णपुरमा सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयाे।
मंंसिर ७ गते पार्टीका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ। त्यसका लागि जनसंगठनहरुलाई परिचालित गर्ने बैठकले निर्णय गरेको छ।
प्रतिक्रिया