विराटनगर-कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी पक्राउ भएकोबारे प्रदेश सभा सचिवालयले सूचना टाँस गरेको छ ।
सोमबार कोशी प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा लिखत तथा मानव बेचबिखन सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट प्रदेश सभा सदस्य अधिकारीविरुद्ध पक्राउ अनुमति जारी भएको उल्लेख छ ।
सूचनामा सांसद अधिकारी २०८१ कात्तिक २५ गते पक्राउ परेको उल्लेख छ।
‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारबाही शाखा) मोरङको च.नं ५३९६ मिति २०८१-०७-२५ को पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डेसमेत भएको लिखत तथा मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१-०७-२५ गते पक्राउ अनुमति जारी भएका कोशी प्रदेशसभाका माननीय सदस्य लीलावल्लभ अधिकारीसमेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि श्री जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराइएको जानकारी प्राप्त भएकाले प्रदेशसभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया